पर्यटनमैत्री नीतिमा वैरागीको जोड : एक्यापका कारण देखिएका समस्या नीतिगत रूपमै समाधान गरिने

पोखरा, ११ फागुन । नेपाल कम्युनिष्ट पार्टी (एमाले) कास्की क्षेत्र नम्बर ३ का प्रतिनिधि सभा उम्मेदवार दामोदर पौडेल वैरागीले पर्यटनमैत्री नीतिमा जोड दिएका छन् । उनले अन्नपूर्ण संरक्षण क्षेत्र (एक्याप) का कारण सिर्जित समस्यालाई नीतिगत रूपमै समाधान गर्ने प्रतिबद्धता जनाएका छन् । सो क्षेत्रका स्थानीय मतदाताले विकास निर्माणका अधुरा काम सम्पन्न गर्ने शर्तमा उनलाई समर्थन जनाउँदै क्षेत्रको समग्र उन्नतिको अपेक्षा राखेका छन् ।
एक्यापबाट प्रभावित स्थानीयवासीले सामुदायिक विकासका काममा अवरोध आएको गुनासो गर्दै आएका छन् । वैरागीले संरक्षण र विकासबीच सन्तुलन कायम गर्दै अनुगमन तथा नियमनलाई प्रभावकारी बनाउने, पर्यटकीय क्षेत्रका सडकहरू पीच गर्ने तथा नयाँ पर्यटकीय गन्तव्यको खोजी र प्रवद्र्धन गर्ने नीति ल्याउने बताएका छन् ।
विशेषगरी लुम्ले क्षेत्रका सडकहरूलाई पूर्णता दिने, कला–साहित्यसँग जोडिएको स्थानलाई पर्यटकीय पहिचान दिलाउने तथा एक्याप क्षेत्रभित्रका केही स्थान स्थानीय तहले उपयोग गर्न पाउनुपर्ने उनको भनाई छ । प्राकृतिक स्रोतबाट संकलित आम्दानी एक्यापमै सीमित हुँदा स्थानीय विकास प्रभावित भएको भन्दै त्यसको न्यायोचित वितरण आवश्यक रहेको उनले औंल्याए ।
पर्यटकीय अवलोकन क्षेत्रका रूपमा परिचित भए पनि अपेक्षित उपलब्धि हासिल हुन नसकेको र प्रभावित नागरिकका लागि समस्या थपिएको स्थानीयको गुनासो छ । उनले यस्ता समस्या समाधान गरी पर्यटकमैत्री वातावरण निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । वैरागीले चुनाव केन्द्रित घरदैलो अभियान अन्तर्गत सोमबार तोल्का, लान्द्रुक, लुम्ले, झोवाङ , नयाँपुल लगायतका क्षेत्रमा स्थानियसँग भेटघाट गरेका छन् ।






सम्बन्धित खवर















