फागुन १५ गते अमरसिंह चौरमा काँग्रेसको शक्ति प्रदर्शन : गगन–विश्वप्रकाशको सम्बोधन
- February 23, 2026
- 1611

पोखरा, ११ फागुन। नेपाली कांग्रेसले फागुन १५ गते शुक्रबार पोखराको अमरसिंह चौरमा भव्य चुनावी सभा गर्ने भएको छ। आगामी प्रतिनिधि सभा सदस्य निर्वाचनलाई लक्षित गर्दै पार्टीले शक्ति प्रदर्शनसहित मतदातामाझ आफ्नो एजेन्डा प्रस्तुत गर्ने तयारी गरेको हो।
कांग्रेस कास्कीका सभापति किशोरदत्त बरालको अध्यक्षतामा बसेको बैठकले सभाको तयारीलाई तीव्रता दिने निर्णय गरेको छ। बैठकले चुनावी सभा व्यवस्थापन समिति गठन गर्दै जिम्मेवारी बाँडफाँटसमेत गरेको सह–सचिव एवं प्रवक्ता नवीन सिग्देलले जानकारी दिए ।
सभालाई कांग्रेस सभापति गगन थापा, उप-सभापति विश्व प्रकाश शर्माले विशेष सम्बोधन गर्ने कार्यक्रम रहेको छ। नेताद्वयले समसामयिक राजनीतिक अवस्था, निर्वाचन एजेन्डा तथा विकासका प्रतिबद्धताबारे धारणा राख्ने अपेक्षा गरिएको छ।
कांग्रेस नेता दिपक गुरुङ माईलाको संयोजकत्वमा गठित व्यवस्थापन समितिमा माया बराल क्षेत्री, दुर्गा लामिछाने, मदन बस्नेत, पुजन थकाली, विजय गुरुङ र मेख तामाङ सदस्य रहेका छन्। समितिले सभा व्यवस्थापन, प्रचार–प्रसार र जनपरिचालनको जिम्मेवारी सम्हाल्नेछ।
प्रतिनिधि सभा सदस्य निर्वाचनअन्तर्गत कास्कीका तीन निर्वाचन क्षेत्र अन्तर्गत क्षेत्र नं. १ मा तिलक रानाभाट, क्षेत्र नं. २ मा माधव प्रसाद बास्तोला ‘मधु’ र क्षेत्र नं. ३ मा मनोज गुरुङ उम्मेदवार छन् भने समानुपातिकतर्फ आईबहादुर गुरुङलाई अघि सारेको छ।
पोखरामा हुने यस चुनावी सभालाई काँग्रेसको शक्ति प्रदर्शनका रूपमा हेरिएको छ। सभा सफल बनाउन पार्टी पंक्ति अहिले तयारीमा जुटेको छ।










